काठमाडौँः लगानी कम्पनी पणाय इन्भेस्टमेन्ट लिमिटेडले आफ्नो सञ्चालक समितिमा शशिराज बज्राचार्य र एमिल प्रधानलाई नियुक्त गरेको छ। कम्पनीका अनुसार यी नियुक्तिले नेपालमा उच्च वृद्धि सम्भावना रहेका विभिन्न क्षेत्रको पहिचान र त्यसमा व्यावसायिक लगानी विस्तार गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
शशिराज बज्राचार्य प्रतिष्ठित उद्यमी तथा शिक्षाविद् हुन्। उनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्व सञ्चालक रहिसकेका छन्। साथै, बज्राचार्य काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र द ब्रिटिस कलेजमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्।
त्यसैगरी, एमिल प्रधान लगानी तथा प्रभावकारी परियोजना व्यवस्थापनमा अनुभवी व्यक्ति हुन्। उनी नेपाल पुनर्विमा कम्पनी लिमिटेडका पूर्व सञ्चालक हुन्। लगानी परामर्श क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी चार्टर्ड एकाउन्टेन्ट शिलु रेग्मीले भने कम्पनीको सञ्चालकका रूपमा निरन्तरता पाउनेछिन्।
हाल नेपालकै पहिलो सेबोन लाइसेन्स प्राप्त एआईएफ फन्ड म्यानेजर ग्लोबल इक्विटी फन्ड लिमिटेडद्वारा व्यवस्थापन हुँदै आएको पणाय इन्भेस्टमेन्टले नवीकरणीय ऊर्जा, होस्पिटालिटी र सूचना प्रविधि क्षेत्रमा बलियो लगानी गर्दै आएको छ। कम्पनीले अब उत्पादन, मिडिया र यातायात क्षेत्रमा समेत लगानी विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।


