पोखरा: नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम पोखरामा सम्पन्न गरेको छ। ‘ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’ नारासहित होटल ग्राण्ड पोखरामा आयोजित उक्त कार्यक्रममा देशभरिका शाखा तथा केन्द्रीय कार्यालयका गरी २७० जना कर्मचारीको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले बीमा व्यवसाय प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी यस्तो विस्तृत तालिमले कम्पनीको व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
उनले कार्यसम्पादन मूल्यांकनका आधारमा बेस्ट इम्प्लोइ अवार्ड–२०८२ बाट उत्कृष्ट ठहरिएका ७ जना कर्मचारी — रोहित कुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारु, बेजोन कार्की, योगेश निरौला, नविना खाती र रचना पराजुलीलाई नगद पुरस्कार तथा सम्मानपत्रसहित सम्मान गरिन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्यका क्रममा दक्ष र प्रविधिमा निपुण कर्मचारीबाट नै उत्कृष्ट सेवा प्रवाह सम्भव हुने उल्लेख गरे। उनले एआई तालिममार्फत डाटा विश्लेषण, ग्राहक सेवा प्रणालीजस्ता उपकरणको प्रभावकारी प्रयोग गरी सेवा छिटो, सरल र गुणस्तरीय बनाउने लक्ष्य रहेको बताए। साथै बीमा व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने सम्पत्ति शुद्धिकरणसम्बन्धी तालिम पनि कार्यक्रमको महत्वपूर्ण अङ्ग रहेको उनको भनाइ थियो।
कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इन्टेलिजेन्सका विभिन्न प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै गहन प्रशिक्षण प्रदान गरेका थिए। त्यसैगरी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले बीमालाई माध्यम बनाएर हुन सक्ने सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण राष्ट्रिय दायित्व भएको उल्लेख गर्दै वित्तीय गतिविधिहरूको सूक्ष्म निगरानी आवश्यक रहेको विषयमा प्रशिक्षण दिए।
कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य अभिवृद्धि गर्ने उद्देश्यले आर्ट अफ लिभिङका डा. डोन्जन लामिछानेबाट योगा प्रशिक्षणसमेत प्रदान गरिएको थियो।
कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको पेशागत ज्ञान परीक्षणमा उत्कृष्ट नतिजा हासिल गर्ने केन्द्रीय कार्यालयका सुरक्षा सिंह (प्रथम), बेजोन कार्की (द्वितीय) र किर्तिपुर शाखाका सिद्धार्थ महर्जन (तृतीय) लाई नगद प्रोत्साहनसहित सम्मान गरिएको थियो। साथै प्रदेशस्तरीय फुटसल प्रतियोगितामा क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र केन्द्रीय कार्यालयका टोलीहरू प्रथम, द्वितीय र तृतीय भएका थिए।


