काठमाडौं। अमेरिकी डलरको मूल्य वृद्धिमा ‘ब्रेक’ लागेको छ। नेपाली रुपैयाँ (नेरु) सँग डलर कमजोर हुँदै गएको छ।
शुक्रबार एक डलरबराबर १४४.८८ रुपैयाँ कायम भएको छ। डलरको भाउ बढेर १४७.४८ रुपैयाँसम्म पुगेको थियो। तर, शुक्रबारसम्म आइपुग्दा डलरसँग नेरु २.६ रुपैयाँ बलियो भएको छ।
भारतीय रुपैयाँ भारु बलियो भएपछि यसको सकरात्मक असर नेपाली रुपैयाँमा परेको हो। एक डलरबराबर ९०.३४ भारुमा झरेको छ। यसअघि एक डलरबराबर ९२ रुपैयाँ नजिक पुगेको थियो।
अमेरिका र भारतबीच भन्सार शुल्कमा सहमति भएपछि यसको सकरात्मक असर मुद्रा बजारमा परेको हो।
अमेरिकाले भारतीय वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको थियो। यसले गर्दा भारु कमजोर भइरहेको थियो। तर,राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तामा भन्सार शुल्क घटाएर घटाएर १८ प्रतिशत कायम गर्न सहमति भएको छ।
नेरुको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले डलरसँग नेरु कमजोर हुन गएको हो। डलरसँग नेरु कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ।
भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।


