काठमाडौँ: मदिरा उत्पादक श्री डिष्टिलरी लिमिटेडले २० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीको पुँजी बढाउन हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीको यही माघ २० मा सम्पन्न वार्षिक साधारणसभाले पुँजी बढाउन हकप्रद सेयर निष्काशनको निर्णय गरेको हो। आउँदो ३५ दिनभित्र हकप्रद सेयरवापतको रकम जम्मा गर्न कम्पनीले सेयरधनीलाई भनेको छ।
हकप्रद सेयर जारीपछि कम्पनी साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारीमा छ। उद्योगले कुल ६० लाख कित्ता सेयरमध्ये १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न प्रक्रिया अघि बढाएको छ। आईपीओ निष्काशन गर्न उद्योगले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ। अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी उद्योगको छ।
आईपीओ निष्काशन प्रयोजनका लागि श्री डिष्टिलरी सन् २०२२ मा पब्लिक लिमिटेडमा परिणत भएको हो। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ। लामो समयदेखि बन्द श्री डिष्टिलरीले पुनर्जन्म पाएपछि मदिरा व्यापार बढ्दै गएको छ। श्री डिष्टिलरीको व्यापार ३० प्रतिशत बढेको छ। एक वर्षमा साढे २३ करोड रुपैयाँ बराबरको मदिरा कारोबार गरेको छ।
२०२४ मा १८ करोड १० लाख रुपैयाँको मदिरा कारोबार गरेको थियो। यस्तै २०२३ मा आठ करोड २० लाख र सञ्चालनको पहिलो वर्ष २०२२ मा ३० लाख रुपैयाँको मदिरा व्यापार गरेको रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
नयाँ व्यवस्थापनले सम्हालेपछि उद्योग ऋण मुक्त बनेको छ। आफ्नो प्रतिस्पर्धी स्थिति पुनःस्थापित गर्ने प्रक्रियामा श्री डिष्टिलरी रहेको छ। हाल उद्योग ७० र ५० यूपी मदिरा उत्पादनहरूमा केन्द्रित छ।
आगामी वर्षहरूमा आफ्नो मूल प्रमुख ब्रान्ड माउन्ट एभरेस्ट ह्विस्कीलाई पुनः बजारमा ल्याउनुका साथै ४० यूपी, ३० यूपी, र २५ यूपी जस्ता उच्चकोटीका ब्रान्डहरूमा विविधीकरण गर्ने लक्ष्य राखेको जनाएको छ। उच्चकोटीको ब्रान्डमा विविधीकरण गर्दा उद्योगलाई बलियो बनाउन र नाफा सुधार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
सन् १९८६ मा मथुरा मास्केले श्री डिष्टिलरीको स्थापना गरेका हुन्। उद्योगका संस्थापक मथुराप्रसाद मास्केलाई कर कार्यालयले ८७ करोड २९ लाख ७९ हजार रुपैयाँ कर छलेको आरोप लगाएर २०६१ देखि उद्योग बन्द गराएको थियो।
सन् २०२१ देखि उद्योगको व्यवस्थापन क्याप्टेन रामेश्वर थापाले लिएपछि सञ्चालनमा आएको हो। थापा जलविद्युत, एयरलाइन्स र मिडिया व्यवसायी हुन्। श्री डिष्टिलरीको ९० प्रतिशत स्वामित्व थापाले किनेका छन भने बाँकी १० प्रतिशत सेयर अन्यको स्वामित्वमा रहेको छ। व्यवस्थापन परिवर्तन भएपछि उद्योगले मदिरा व्यापार बढाउँदै लगेको छ।
उद्योग नबलपरासीको अरुण खोलामा १० विगाह जमिनमा रहेको छ। श्रीसँग डिस्टिलरी र स्पिरिट उत्पादन इजाजतपत्र छ। उद्योगसँग वार्षिक १७ लाख केस मदिरा उत्पादन क्षमता छ। उद्योगसँग वार्षिक ८ लाख किलोलिटर मदिरा उत्पादन इजाजत रहेको छ। उद्योगले उच्च गुस्तरका ४०, ३० र २५ युपी भएका उच्चस्तरका ब्रान्डहरू ल्याउने योजना बनाएको छ।
माउन्ट एभरेस्ट र गोर्खाली रम श्री डिष्टिलरीको प्रमुख ब्राण्ड हुन्। उद्योगसँग स्वदेशी ह्विस्की र रम जस्ता विदेशी मदिराका १४ भन्दा बढी ब्राण्ड छन्।
कम्पनीको सुरुवाती मुख्य ब्रान्डहरुमा किंग्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, बन्ड ब्ल्याक लेबल, ओएसीस एक्स्ट्रा ड्राइ, श्री स्पेशल नम्बर वान, दुधिया स्पेशल, बुलेट, श्री दुधिया, सगुनलगायत उत्पादनहरु थिए। उद्योगका हालका ब्रान्डहरुमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोश, स्पेशल नम्बर वान रहेका छन्।
पुनर्जन्मपछि श्री डिष्टिलरीको मदिरा व्यापार बढ्दो, माउन्ट एभरेस्ट ह्विस्की बजारमा ल्याउने तयारी
२०५५/०५६ सालमा सबैभन्दा धेरै कर तिरेको श्री डिष्टिलरीले २०५६ सालदेखि कर छली सुरु गरेको थियो। २०५६ सालमा मदिरा बनाउने कच्चा पदार्थ नष्ट भएको भन्दै लेखा परिक्षणमा देखाएर ८७ करोड २९ लाख ७९ हजार रुपैयाँ कर छली गरेको आरोप लागेको थियो। २०५८ सालमा मुद्दा परेपछि छानविन भएको थियो।
कर विभागले असूल गर्ने निर्णय गरेपछि २०६१ सालदेखि उद्योग बन्द भयो। आन्तरिक राजस्व विभागले ताला लगाएपछि सो उद्योग १६ वर्षदेखि बन्द थियो।
श्री डिस्टीलरीका अध्यक्ष मथुराप्रसाद मास्के थिए। उनको २०७० साल असारमा निधन भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५५ सालमा ५० हजार क्विन्टल खुदो हिनामिना गरी राजस्व छलेको थियो भन्दै कारबाही गर्न २०६१ सालमा आन्तरिक राजस्व विभागलाई आदेश दिएको थियो।
अख्तियारले पत्रपछि आन्तरिक राजस्व कार्यालयले काठमाडौँ प्रहरीलाई पक्राउ गर्न पत्र काटेको थियो। २०६१ पुस २३ गते मास्के नाममा रहेको सबै चलअचल सम्पत्ति रोक्का भएको थियो।
श्री डिस्टिलरीलाई ५० हजार क्विन्टल मोलासेसबाट २ लाख ४६ हजार बाकस उच्च गुणस्तरको मदिरा उत्पादन गरी बिक्री गरेको अनुमान लगाएर विलम्ब शुल्कसमेत ८७ करोड २९ लाख ७९ हजार २ सय रुपैयाँ र ६ महिना कैद सजायको निर्धारण आन्तरिक राजस्व कार्यालय भरतपुरले २०६२ साल वैशाख ११ गते गरेको थियो।


