काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले चालु आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिएकी छन्। उनले बजेटको तय गरिएको सीमाभित्र रहेर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै त्यसबाहिर खर्च गर्ने अवस्था नहुने स्पष्ट पारिन्।
शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले मन्त्री पद सम्हालेपछि सुखद र चुनौतीपूर्ण दुवै पक्ष सामना गर्नुपर्ने बताइन्। स्वास्थ्य बीमा सम्बन्धी रकम उपलब्ध नभएको भन्ने चर्चा चलिरहेको उल्लेख गर्दै उनले सरकारले वार्षिक बजेटमै बीमाका लागि आवश्यक रकम छुट्याएको दाबी गरिन्।
उनका अनुसार स्रोत सुनिश्चितता र सहमति बिना बीमा बोर्डले खर्च बढाउँदै जाँदा वार्षिक दायित्व करिब २४ अर्ब रुपैयाँसम्म पुगेको अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा आवश्यक रकम कहाँबाट जुट्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक भएको उनले बताइन्।
मन्त्री गौतमले सरकारको सेवा सञ्चालनका लागि प्रयोग हुने रकम नागरिकले तिरेको करबाटै आउने स्मरण गराउँदै राज्यसँग अलग्गै स्रोत नहुने स्पष्ट पारिन्। साथै, करबाट संकलित रकमको प्रभावकारी उपयोगतर्फ पर्याप्त ध्यान नदिइँदा सरकारले नै सबै व्यवस्था गरिदिन्छ भन्ने मानसिकता समाजमा बढिरहेको टिप्पणी समेत गरिन्।


