काठमाडौँ: विश्वकै प्रभावशाली प्रविधि सम्मेलनमध्ये एक मानिने ‘वेब समिट कतार २०२६’ मा सहभागी हुँदै नेपाली एआई कम्पनी टिङटिङले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय उपस्थिति जनाएको छ। कतारको दोहामा फेब्रुअरी ४ मा सम्पन्न चारदिने सम्मेलनमा टिङटिङ नेपालबाट प्रतिनिधित्व गर्ने एकमात्र स्टार्टअपका रूपमा सहभागी भएको हो।
विश्वभरका प्रविधि विशेषज्ञ, उद्यमी र लगानीकर्ताको ठूलो जमघट हुने यस सम्मेलनमा १२० देशका १,६०० भन्दा बढी स्टार्टअप सहभागी थिए। तीमध्ये टिङटिङको छनोट हुनु नेपाली प्रविधि क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। कम्पनीले नेपालमै विकसित आफ्नै ‘रिरी’ इन्जिन तथा स्थानीय भाषा बुझ्ने उन्नत एआई प्रणालीका आधारमा अन्तर्राष्ट्रिय मञ्चमा स्थान सुरक्षित गरेको जनाएको छ।
‘नेपालमा निर्मित, विश्वका लागि’ भन्ने अवधारणासहित अघि बढिरहेको टिङटिङले स्वदेशी बजारमा बैंक, इन्टरनेट सेवा प्रदायक तथा सरकारी निकायहरूको सञ्चार प्रणाली व्यवस्थापनमार्फत आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। अब कम्पनीले विश्वबजारतर्फ विस्तारको तयारी गरिरहेको बताइएको छ।
सम्मेलनअन्तर्गत आयोजित ‘स्टार्टअप शोकेस’ कार्यक्रममा टिङटिङका डाइरेक्टर अफ इन्जिनियरिङ एन्जेलिका साहले प्रस्तुति दिँदै नेपालमा विकसित एआई प्रविधिले संस्थाहरूलाई ग्राहकको आवश्यकता र व्यवहार गहिराइमा बुझ्न कसरी सहयोग गरिरहेको छ भन्ने विषयमा प्रकाश पारेकी थिइन्।
यस अवसरमा कम्पनीको टोलीले विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्ता तथा प्रविधि क्षेत्रका प्रतिनिधिसँग सम्भावित सहकार्य र लगानीका विषयमा छलफल गरेको जनाएको छ।







