काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न ४२ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन्।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म हुनेछ, जुन ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने हुनुपर्छ। निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ८ गते हुनेछ।
बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ। बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ। संकलित निक्षेप सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो मानिने भएकाले यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट गरेको छ।


