काठमाडौँ: एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोले नेपालमा लगानी गर्न आफूहरू तयार रहेको बताएका छ्न्।
नेपालमा दूरसञ्चार पूर्वाधारको विकास क्षेत्रीय स्तरको तुलनामा उल्लेख्य रूपमा पछाडि रहेको बताउँदै उनले अनुमति पाए २० करोडदेखि २५ करोडडलर नेपालमा लगानी गर्न आफूहरू तयार भएको बताए।
ललितपुरको होटल टुलिपमा जारी ‘कान्तिपुर कन्क्लेभ’अन्तर्गत ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनः स्थापना’ सत्रमा सीईओ फुले नेपाल प्रविधिको क्षेत्रमा छिमेकी मुलुकहरूभन्दा ५ देखि ८ वर्ष पछाडि रहेको पनि बताए।
विश्वव्यापी मापदण्डसँग तुलना गर्दा यो खाडल अझ गहिरो देखिने भन्दै नेपालमा प्रविधि क्षेत्रमा लगानी आवश्यक रहेको आशय उनले व्यक्त गरे।
विदेशी लगानी रहेको एनसेल करिब दुई दशकभन्दा लामो समयदेखि नेपालमा सञ्चालनमा छ। एनसेलको अनुमति आगामी २०८६ भदौमा समाप्त हुँदैछ। त्यसपछि ५० प्रतिशतभन्दा बढी विदेशी स्वामित्व भएका सेवा प्रदायकको भौतिक पूर्वाधार नेपाल सरकारको स्वामित्वमा जाँदैछ।
यस्तो अवस्थामा फोले नेपालमा दीर्घकालीन रूपमा काम गर्नेगरी लगानी बढाउन तयार रहेको बताएका हुन्।




