एजेन्सी: गएको सेप्टेम्बर ८ र ९ मा नेपालको काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा श्रीमतीको मृत्यु भएको भन्दै दिल्ली उच्च अदालतमा एक पुरुषले निवेदन दर्ता गराएका छन्। प्रदर्शनको क्रममा हायात रिजेन्सीमा भएको आगजनी र तोडफोडका क्रममा श्रीमतीको मृत्यु भएको निवेदनमा उल्लेख छ।
निवेदक रणवीर सिंह गोलाले आफ्नी श्रीमती राजेश गोलाको मृत्युका लागि भारत सरकार (परराष्ट्र मन्त्रालय), नेपालस्थित भारतीय दूतावास र काठमाडौँको हायात रिजेन्सी होटलविरुद्ध मुद्दा दायर गरेका हुन्। निवेदनमा आफू र श्रीमती ७ सेप्टेम्बर २०२५ मा पशुपतिनाथ मन्दिरको दर्शनका लागि नेपाल गएकाोमा ९ सेप्टेम्बरमा प्रदर्शनकारीहरूले होटलमा आगजनी गरे तथा भीडले आक्रमण गरेको बताइएको छ।
होटल प्रशासनले पाहुनाहरूलाई सुरक्षाको आश्वासन दिएको, चेकआउट गर्न रोकेको र माथिल्लो तलामा पठाएको, तर आपतकालीन अवस्थामा कुनै उचित व्यवस्था नगरेको दाबी निवेदनमा गरिएको छ। निवेदकका अनुसार भाग्ने क्रममा चौथो तलाबाट खसेर उनकी श्रीमतीको मृत्यु भएको थियो। निवेदनमा भारतीय दूतावास र परराष्ट्र मन्त्रालयले बारम्बार सम्पर्क गर्दा पनि कुनै सहयोग नगरेको उल्लेख छ।
यद्यपि, उक्त निवेदनमाथि घटना नेपालमा घटेकाले भारतमा कसरी सुनुवाइ हुन्छ भनेर प्रश्न उठेको छ। अदालतले यो निवेदन दिल्लीमा कसरी सुनुवाइ हुन सक्छ भनी प्रश्न गरेको छ।
न्यायमूर्ति पुरुषैन्द्र कुमार कौरवको एकल इजलासमा सोमबार उक्त निवेदनमाथि सुनुवाइ भएको अमर उजालाले जनाएको छ। अदालतले नेपालमा भएको घटनामा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रश्न उठाएको छ। आदेशमा भनिएको छ, ‘नेपालमा केही हुन्छ, होटलले केही भन्छ, हामीले कसरी निर्णय गर्ने?’
अदालतले हायात होटललाई विपक्षी बनाएकोमा पनि आपत्ति जनाउँदै निवेदन संशोधन गरेर ल्याउन भनिएको छ। अदालतले निवेदकलाई आफ्नो माग र याचिका सुधार गरेर ल्याउन आदेश गर्दै आगामी २६ फेब्रुअरीमा अर्को पेसी तोकेको छ।


