काठमाडौँः पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँटपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ ल्याउन लागेको हो।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि, ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो।
अब बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गते बन्द हुनेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


