काठमाडौँः एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ। उनी अब बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति, कार्यक्रम सञ्चालन र विकास साझेदारीको नेतृत्व गर्नेछिन्।
श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन्। उनले ३ अप्रिल २०२५ देखि उक्त जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। एडीबीमा उच्च नेतृत्व तहमा पुग्ने नेपालीमध्ये उनी एक हुन्। उनले स्वतन्त्र मूल्यांकन विभागकी उपमहानिर्देशक, एडीबी सहायक सचिव तथा विभिन्न क्षेत्रीय विभागमा निर्देशकका रूपमा काम गरिसकेकी छन्। इन्डोनेसियाका लागि उपदेशीय निर्देशक र फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टको अनुभव पनि उनीसँग छ।
२७ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय विकास अनुभव बोकेकी श्रेष्ठले तीमध्ये २३ वर्ष एडीबीमै बिताएकी छन्। उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पीएचडी र स्मिथ कलेजबाट स्नातक उपाधि हासिल गरेकी छन्।
सन् १९६६ मा स्थापना भएको एडीबीमा हाल ६९ सदस्य राष्ट्र आबद्ध छन्।


