काठमाडौँः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक समीक्षा क्रममा तीन वाणिज्य बैंकमाथि नियामकीय कारबाही गरेको जनाएको छ। बैंक सुपरिवेक्षण विभागका अनुसार एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कारबाहीमा परेका छन्।
राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकले नियामक निर्देशन पटक–पटक उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गर्नुका साथै जारी गरिएको लिखित आदेशसमेत पालना नगरेको पाइएपछि तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २(ग) अनुसार जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, ग्लोबल आईएमई बैंकको स्थलगत निरीक्षणका क्रममा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, ब्नभष्लन–धष्कभ प्रावधान लागू नगरेको तथा कर्जा पुनरतालिकीकरण र पुनरसंरचनासम्बन्धी नियम पूर्ण रूपमा पालना नगरेको भेटिएको राष्ट्र बैंकले जनाएको छ। साथै कोर बैंकिङ प्रणालीमा चुक्ता भइसकेको कर्जालाई पुरानै मिति राखेर पुनः सिर्जना गर्न सकिने कमजोरी देखिएकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई दफा १०० उपदफा २(क) बमोजिम सचेत गराइएको छ।
यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा सुरक्षणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको, ग्राहकको सहिछापबिनै कागजात तयार पारेको तथा सुरक्षणले नखाम्ने गरी बढी कर्जा प्रवाह गरेको पाइएको छ। एउटै प्रकृतिका कर्जामा ब्याजदर अन्तर दुई प्रतिशत बिन्दुभन्दा बढी राख्नुका साथै चालू पुँजी कर्जा मार्गदर्शन २०७९ विपरीत त्रैमासको अन्तिम महिनामा अल्पकालीन कर्जा प्रवाह गरी असुलीमा प्रयोग गरेको भेटिएपछि बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई दफा १०० उपदफा २(क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंकिङ अनुशासन कायम गर्न तथा वित्तीय प्रणालीलाई थप पारदर्शी र उत्तरदायी बनाउन नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।


