काठमाडौँः नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिज्ञापत्रमा स्वास्थ्य बीमा प्रणालीलाई नेपालको स्वास्थ्य सेवाको मेरुदण्ड बनाउने घोषणा गरिएको छ। पाँच वर्षभित्र सबै नेपाली नागरिक अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुने र बीमामार्फत सबै प्रकारका उपचार सेवा उपलब्ध गराइने प्रतिज्ञापत्रमा भनिएको छ।
कांग्रेसले हालको स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत र व्यवस्थापकीय कमजोरी सुधार्दै यसलाई ‘राष्ट्रिय गौरवको आयोजना’का रूपमा सञ्चालन गर्ने प्रतिज्ञा गरेको छ। स्वास्थ्य सेवा परोपकार नभई नागरिकको अधिकार भएको धारणा अन्तर्गत बीमा प्रणालीलाई सुदृढ बनाइनेछ। विशेष उमेर समूहका लागि ७३ वर्षमाथिका ज्येष्ठ नागरिक र ३ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिनेछ। साथै, क्यान्सर, मिर्गौला र मुटु रोग जस्ता महँगो उपचार बीमामा समेटेर ‘असीमित र पूर्ण राहत’ उपलब्ध गराइनेछ।
आर्थिक रूपमा टिकाउ बनाउन कांग्रेसले कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा लगाउने, चिनीजन्य पेय, मदिरा र सुर्तीजन्य वस्तुमा स्वास्थ्य कर लगाएर बीमा कोषमा जम्मा गर्ने, र विपन्न तथा श्रमिक वर्गको प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था गर्ने योजना बनाएको छ। औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी आयअनुसार योगदान गर्नेछन्।
प्रविधि प्रयोगमा, प्रत्येक नागरिकको ‘डिजिटल हेल्थ प्रोफाइल’ राखिनेछ, जसले अस्पतालमा फाइल बोकेर धाउने झन्झट अन्त्य गर्नेछ। अनलाइन ओपिडी टिकट, टेलिमेडिसिन र डिजिटल प्रेस्क्रिप्सन देशभर विस्तार गरिनेछ। सबै स्थानीय तहमा ’प्रथम सेवा विन्दु’ सञ्चालन गरी नागरिकले स्वास्थ्य बिमामार्फत न्यूनतम उपचार आफ्नै घरदैलोमा पाउने सुनिश्चित गर्ने घोषणा पत्रमा उल्लेख छ ।
कांग्रेसले विभिन्न स्वास्थ्य सामाजिक सुरक्षा योजनाहरूलाई एकीकृत गरी ‘एकद्वार प्रणाली’ लागू गर्ने, सरकारी अस्पतालको फार्मेसी सुदृढ बनाउने, र औषधि ‘फ्रेमवर्क कन्ट्र्याक्ट’ मार्फत सुलभ मूल्यमा उपलब्ध गराउने पनि प्रतिज्ञा गरेको छ। दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई विशेष वृत्तिविकास र आकर्षक भत्ता दिने, कार्यस्थल हिंसाप्रति शून्य सहनशीलता अपनाउने, र सुरक्षाका लागि कडा कानुनी प्रावधान ल्याउने योजना पनि यसमा समावेश गरिएको छ।
यसरी कांग्रेसले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको आयोजना, सबैको पहुँचयुक्त सेवा, र दीर्घकालीन टिकाउ प्रणालीको रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।


