काठमाडौँः नेपाल राष्ट्र बैंक ले ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित आगामी चैत २ देखि ८ गतेसम्म (मार्च १६–२२) ग्लोबल मनी विक मनाउने भएको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै यो वर्ष उक्त अभियानको १४औँ संस्करण नेपालमा पनि मनाउन लागिएको जानकारी दिएको हो।
बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्ति विकास गर्ने उद्देश्यले ओर्गनाइजेसन फर इकनमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर ग्लोबल मनी विक मनाउने गरिएको छ। हालसम्म यो अभियान १७६ देशका ७ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको बताइएको छ।
नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै कार्यक्रम सञ्चालन गर्नेछ। बैंक तथा वित्तीय संस्थाहरू, सहकारी, बीमा कम्पनी, शैक्षिक संस्था तथा अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
केन्द्रीय बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सबै संघसंस्था र निकायलाई यस अभियानमा सहभागी भई कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन आह्वान गरेको छ।


