काठमाडौँः कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि पहिलो चरणको साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्काशन गरेको हो। कम्पनीले स्थानीयका लागि ५ लाख ५० हजार कित्ता सेयर छुट्याएको छ। यसमा दोलखाको बिगु गाउँपालिका–८ तथा कालिन्चोक गाउँपालिका–२ र ३ का स्थानीयले आवेदन दिन सक्नेछन्।
यस निष्काशनमा स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयले छिटोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत १२ गतेसम्म आवेदन खुला रहनेछ।
त्यसैगरी, कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८२ हजार ५ कित्ता सेयर निष्काशन गरेको छ। यस समूहमा न्यूनतम १० कित्ता र अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस निष्काशनमा फागुन १७ गतेसम्म आवेदन दिन सकिनेछ। त्यसपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ।
नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ। सेयर निष्काशनको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको करिब ८३ प्रतिशत काम सम्पन्न भइसकेको छ।


