काठमाडौँः प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द नहुने भएको छ। निर्वाचन आयोगले ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै कुनै पनि आन्तरिक वा बाह्य उडान नरोकिने जनाएको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई का अनुसार फागुन २१ गते हुने निर्वाचनका दिन पनि हवाई उडान नियमित रूपमा सञ्चालन हुनेछन्। आवश्यक आवागमनका लागि पासको व्यवस्था भने निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्नेछन्।
एयरलाइन्सका कर्मचारीलाई विमानस्थल जान–आउन तथा पर्यटकलाई विमानस्थलदेखि होटल र होटलदेखि विमानस्थलसम्म आवागमन गर्न पासको व्यवस्था गरिनेछ। यसका लागि सम्बन्धित कम्पनीहरूले कम्तीमा दुई दिनअघि नै पास लिनुपर्नेछ।


