काठमाडौँ: चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा वाणिज्य बैंकहरूको नाफा उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कूल ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुदनाफा आर्जन गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल नाफा ३६ अर्ब ६ करोड रुपैयाँ रहेको थियो। त्यसको तुलनामा चालु वर्षमा बैंकहरूको नाफा ५.४० प्रतिशत वृद्धि भएको देखिन्छ।
नाफाको आधारमा यस अवधिमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले सात महिनामा ५ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड रुपैयाँ र कुमारी बैंकले ३ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन्।
अर्कोतर्फ लक्ष्मी सनराइज बैंक को नाफा सबैभन्दा कम देखिएको छ। उक्त बैंकले सात महिनामा २४ करोड २७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ। त्यसैगरी एनआईसी एशिया बैंकले ४४ करोड ३० लाख रुपैयाँ र सिटिजन्स बैंकले ५७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका छन्।
नाफा वृद्धिको दरका आधारमा भने कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। गत वर्षको माघको तुलनामा बैंकको नाफा ३२९.८६ प्रतिशतले बढेको छ। त्यसपछि सिद्धार्थ बैंकको नाफा ९९.५७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंक को नाफा ५२.४६ प्रतिशतले वृद्धि भएको छ।
तर सबै बैंकको नाफा भने बढेको छैन। उपलब्ध तथ्यांकअनुसार १० वटा वाणिज्य बैंकको नाफा घटेको छ। विशेषगरी लक्ष्मी सनराइज बैंकको नाफा ८४.७३ प्रतिशत घटेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को नाफा ३६.१८ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनल को ३६.०९ प्रतिशत र प्रभु बैंकको २५.६६ प्रतिशतले घटेको देखिएको छ।
यसैबीच, राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा पनि बढेको छ। राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका ८ विकास बैंकले चालू आर्थिक वर्षको पहिलो सात महिनामा ३ अर्ब ८८ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको नाफा ३ अर्ब ३० करोड रुपैयाँ थियो, जसको तुलनामा चालु वर्षमा नाफा १७.५२ प्रतिशतले बढेको हो।
विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ८२ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ। त्यसपछि गरिमा विकास बैंकले ७७ करोड ९४ लाख रुपैयाँ र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका छन्।
अर्कोतर्फ लुम्बिनी विकास बैंकको नाफा सबैभन्दा कम २६ करोड ४८ लाख रुपैयाँ रहेको छ। त्यसैगरी महालक्ष्मी विकास बैंकले २८ करोड ३४ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
नाफा वृद्धिको दरका आधारमा सांग्रिला डेभलपमेन्ट बैंक अगाडि रहेको छ। जसको नाफा ३६.४२ प्रतिशत बढेको छ। त्यसपछि मुक्तिनाथ विकास बैंकको नाफा ३०.५० प्रतिशत र ज्योति विकास बैंक को नाफा २६.३९ प्रतिशतले वृद्धि भएको छ।
समिक्षा अवधिमा भने महालक्ष्मी विकास बैंकको नाफा १५.४७ प्रतिशतले घटेको देखिएको छ। महालक्ष्मी बाहेक अन्य सबै राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा भने वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।


