काठमाडौं – नेपाल र फलिपिन्सको मैत्रीपूर्ण फुटबलको पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको छ। फिलिपिन्सको घरेलु मैदान रिजल मेमोरियल स्टेडियममा जारी खेलमा नेपालले पहिलो हाफमा गोल गर्न सकेन।
अधिक समय फिलिपिन्सले बललाई नियन्त्रणमा राखेको थियो। साफ च्याम्पियनसिपको तयारी गरिरहेको नेपाल बलियो प्रतिद्वन्दी फिलिपिन्सलाई हराउने योजनामा छ।
यसअघि पनि नेपालले एक पटक फिलिपिन्सविरुद्ध जित निकालेको छ। तर नेपालले चार पटक हार पनि बेहोेरेको छ। एक खेल भने बराबरी भएको छ।

नेपालले आज फिलिपिन्सविरुद्ध सातौं पटक खेल्दैछ। तर नेपालले उविरुद्ध प्रभावसाली खेल प्रस्तुत गर्न भने सकेको छैन्। भारतमा हुने १४ औं संस्करणको साफको तयारीका लागि नेपालले फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेलिरहेको हो।
आजको खेलबाट डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन्। आजको मैत्रीपूर्ण खेलमा सुरुआती–११ मा पर्दै विमल र लाकेनले डेब्यु गरेका हुन्।
गएको जेठ २७ गते सम्पन्न भएको ४४ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा पनि लाकेन लिम्बु उत्कृष्ट युवा खेलाडी बनेका थिए। उनले थ्रिस्टारबाट खेलेका थिए।



