काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘ग्लोबल मनि विक २०२६’को अवसरमा अन्तर–कलेज वक्तृत्व प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘स्मार्ट मनि टक्स’ नारासहित आयोजना हुन लागेको प्रतियोगिताको मुख्य विषय ‘फाइनान्सियल लिटरेसी एन्ड मार्केट मिसइन्फर्मेसन’ रहेको छ।
प्रतियोगिता चैत ६ गते (मार्च १९, २०२६) त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टमा बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको प्राविधिक सहयोग त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले गर्ने जनाएको छ।
सेबोनका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले इमेलमार्फत नाम दर्ता गर्नुपर्नेछ। प्रत्येक कलेजबाट एक पुरुष र एक महिला गरी दुई जना मात्र सहभागी हुन पाउनेछन् भने कलेजको आधिकारिक सिफारिस पत्र अनिवार्य गरिएको छ। स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन योग्य हुनेछन्।
प्रतियोगितामा भाषण नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा दिन सकिनेछ र प्रत्येक सहभागीलाई अधिकतम ६ मिनेटको समय दिइनेछ। सहभागी संख्या ३० पुगेपछि दर्ता प्रक्रिया स्वतः बन्द हुने बताइएको छ।
सेबोनले यस कार्यक्रममार्फत युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै पूँजी बजारसम्बन्धी भ्रम र गलत सूचनाबारे सचेतना फैलाउने लक्ष्य राखेको जनाएको छ।


