काठमाडौँ: वाणिज्य बैंकहरूले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा खासै ठूलो उतारचढाव देखिएको छैन। फागुनको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदरमा ०.०७ प्रतिशत बिन्दुले गिरावट आएसँगै ब्याजदर अब तल्लो सीमा (बटम लाइन) तिर स्थिर हुन थालेको संकेत मिलेको छ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुनको ४.५६ प्रतिशतबाट घटेर चैतमा ४.४९ प्रतिशतमा सीमित भएको छ। यो झिनो गिरावटले ब्याजदर घट्ने क्रम जारी रहे पनि अब यो थप घट्ने ठाउँ साँघुरिँदै गएको देखाउँछ ।
बैंकिङ क्षेत्रका विश्लेषकहरूका अनुसार अहिलेको ब्याजदर नेपाल राष्ट्र बैंकले तोकेको ब्याजदर करिडोरको न्यूनतम सीमासँग लगभग नजिक भएको अवस्थामा छ। यसले गर्दा अब तत्काल ब्याजदरमा गिरावट आउने सम्भावना कम देखिएको छ। बरू कर्जा मागमा सुधार नभएसम्म बैंकहरू ‘पर्ख र हेर’ को अवस्थामा बस्ने देखिन्छन्।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ अहिले बैंकहरूको ब्याजदर करिडोरको तल्लो सीमासँग नजिकिसकेको बताउछन्। “अब कर्जा प्रवाह उल्लेखनीय रूपमा बढेन भने ब्याजदर स्थिर नै रहन्छ,” उनले भने। उनका अनुसार यदि नयाँ सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने ठोस कदम चाल्यो भने भविष्यमा ब्याजदर पुनः बढ्न सक्ने सम्भावना छ।
यता, चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको तथ्यांकले बैंकिङ क्षेत्रको वास्तविक अवस्था अझ स्पष्ट देखाउँछ। यस अवधिमा निक्षेप संकलन ६ प्रतिशत बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा भने मात्र ४ प्रतिशत वृद्धि भएको छ। वार्षिक आधारमा निक्षेप १४.९ प्रतिशतले बढ्दा कर्जा विस्तार ६.८ प्रतिशतमै सीमित हुनु अर्थतन्त्रमा लगानीको गति कमजोर रहेको संकेत हो।
राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको भए पनि हालसम्मको प्रगति हेर्दा त्यो लक्ष्य हासिल गर्न चुनौतीपूर्ण देखिएको छ। लक्ष्य पूरा गर्न अब बाँकी अवधिमा करिब सात खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गर्नुपर्ने अवस्था छ, जुन अहिलेको सुस्त बजारमा सहज देखिँदैन।
बैंकहरूले जोखिम व्यवस्थापनतर्फ पनि सतर्कता अपनाइरहेका छन्। माघसम्म आइपुग्दा २० वाणिज्य बैंकहरूले झण्डै तीन खर्ब रुपैयाँ व्यवस्थापन (लोन लस प्रोभिजन) मा छुट्याएका छन्। पुसको तुलनामा माघमा सामान्य वृद्धि देखिए पनि यसले बैंकहरू अझै जोखिमप्रति सजग रहेको देखाउँछ।
चैत महिनाका लागि बैंकहरूको ब्याजदर निर्धारण हेर्दा २० मध्ये ६ बैंकले दर घटाएका छन् भने १४ बैंकले अघिल्लो महिनाकै दर कायम राखेका छन्। नेपाल बैंकले सबैभन्दा बढी ०.६ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि ब्याजदर घटाएका छन्।
यता, केही ठूला बैंकहरूले भने स्थिरता रोजेका छन्। प्रभु बैंक र नबिल बैंकले ४.५५ प्रतिशत ब्याजदर कायम राखेका छन् भने हिमालय बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक र एनएमबी बैंकले ५ प्रतिशत ब्याजदर यथावत् राखेका छन्। यसले समग्र बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा भए पनि ब्याजदरको समग्र ‘ट्रेन्ड’ स्थिर रहेको देखाउँछ।
ब्याजदर संरचनामा अवधिअनुसार फरकपन पनि देखिएको छ। छोटो अवधिको मुद्दती निक्षेपमा ब्याजदर घट्दै गएको छ भने लामो अवधिका निक्षेपमा तुलनात्मक रूपमा उच्च दर कायम छ। यसले भविष्यमा ब्याजदर बढेमा दीर्घकालीन निक्षेपकर्तालाई घाटा हुने जोखिम पनि बढाएको छ, ‘किनकि एकपटक राखिएको मुद्दती निक्षेप बीचमै परिमार्जन गर्न सकिँदैन। यसले निक्षेपकर्तालाई नै असर गर्छ’ खालिङले भने ।
यसबीच, मुद्रास्फीतिको दबाब पनि बढ्दै गएको छ। माघ महिनामा उपभोक्ता मूल्य सूचकांक उकालो लाग्दा साधारण बचतको ब्याजदर २.७५ प्रतिशतमै सीमित रहेको छ। यसले वास्तविक ब्याजदर ऋणात्मक बन्न पुगेको छ, जसले बचतकर्ताको आम्दानीको वास्तविक मूल्य घटाउने जोखिम देखिन्छ।
समग्रमा हेर्दा, बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा विस्तार सुस्त रहनु, ब्याजदर तल्लो सीमामा स्थिर हुनु र मुद्रास्फीतिको दबाब बढ्नुले अर्थतन्त्र मिश्रित अवस्थाबाट गुज्रिरहेको संकेत गर्छ। अब आर्थिक गतिविधि बढाउन लगानी प्रोत्साहन गर्ने र बजारमा विश्वास सिर्जना गर्ने नीतिगत पहलले मात्र बैंकिङ क्षेत्रलाई पुनः गतिशील बनाउन सक्ने देखिन्छ। अब आउने नयाँ सरकार प्रति आशावादी रहेको खालिङले बताएका छन्।


