काठमाडौं। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले वाणिज्य बैंकहरू दोहोरो चुनौतीमा परेको देखाएको छ। खराब कर्जा अपेक्षित रूपमा घट्न नसक्दा र नयाँ कर्जा प्रवाह सुस्त रहँदा बैंकहरूको गैरबैंकिङ सम्पत्ति तीव्र रूपमा बढ्दै गएको छ।
चालू आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि माघसम्म २० वाणिज्य बैंकमा यस्तो सम्पत्ति ४४ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ। गत वर्षको सोही अवधिमा ३५ अर्ब ८२ करोड रहेको यो परिमाण एक वर्षमै २१ प्रतिशतभन्दा बढी वृद्धि भएको हो।
अधिकांश बैंकमा वृद्धि देखिँदा १४ बैंकमा गैरबैंकिङ सम्पत्ति बढेको छ भने ५ बैंकले केही नियन्त्रण गर्न सफल भएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने यस्तो सम्पत्ति शून्य छ।
हिमालयन बैंकमा सबैभन्दा धेरै ६ अर्ब रुपैयाँ बराबर गैरबैंकिङ सम्पत्ति रहेको छ। त्यसपछि क्रमशः ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्।
कर्जा असुलीमा ढिलाइ, धितो व्यवस्थापनमा समस्या तथा आर्थिक गतिविधिको सुस्तताले यस्तो अवस्था सिर्जना भएको हो। यदि यो प्रवृत्ति निरन्तर रह्यो भने बैंकहरूको नाफा, पूँजी अवस्था र समग्र वित्तीय प्रणालीमै असर पर्ने देखिएको छ।
घरजग्गा कारोबारमा आएको सुस्तताले गर्दा बैंकले सकारेको धितो क्रिी हुन सकेको छैन्।
राष्ट्र बैंकले बैंकहरूले गैरबैंकिङ सम्पत्ति बुक गरेपछि शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था हटाएको छ।
त्यस्तै, राष्ट्र बैंकले ऋणीको धितो बैंक स्वयंले सकार्ने व्यवस्थामा कडाइ गरेको छ। केन्द्रीय बैंकले तीन पटकसम्म धितो लिलाम गर्दा पनि बिक्री नभएमा मात्र बैंक आफैंले धितो सकार गर्नुपर्ने व्यवस्था गरेको छ।
यसअघि दुई पटक लिलामपछि नै बैंकले उक्त धितो गैरबैंकिङ सम्पत्तिका रूपमा आफैंले सकार्नुपर्ने व्यवस्था थियो। अब भने कम्तीमा तीन पटकसम्म धितो लिलाम प्रक्रिया पूरा गर्दा समेत बिक्री नभएको खण्डमा मात्र बैंकले आफैंले सकार गर्न पाउने भएका छन्।
केन्द्रीय बैंकले गैरबैकिङ सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्दैछ। कम्पनी सञ्चालनमा नआएसम्म बैंकहरुले सम्पत्ति व्यवस्थापन गर्न गाह्रो पर्नेछ। बैंकहरुले झण्डै तीन खर्ब रुपैयाँ प्रोभिजन गरेका छन्। जसले गर्दा बैंकहरुको नाफामा असर परेको छ।


