काठमाडौँः नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०८३ का लागि बैंक बिदा तथा सेवा सञ्चालनसम्बन्धी नयाँ तालिका सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार आगामी वर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कुल ३५ दिन बिदा पाउने भएका छन्।
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचनामा बिदालाई विभिन्न श्रेणीमा वर्गीकरण गरिएको उल्लेख छ। साथै, बिदाबाहेकका दिनमा बैंकहरूको सेवा समय भने वर्षको मौसमअनुसार फरक–फरक रहने व्यवस्था गरिएको छ।
तालिकाअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बैंकहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। जाडो याममा भने सेवा समय घटाइनेछ। कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मात्र सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ।
साप्ताहिक रूपमा प्रत्येक शुक्रबार बैंकहरू सीमित समयका लागि मात्रै खुला रहनेछन्। उक्त दिन बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्र सेवा प्रदान गरिनेछ।
यसैगरी बैंकिङ कारोबारको समय पनि मौसमअनुसार परिवर्तन गरिएको छ। वैशाख १ देखि कात्तिक १५ तथा माघ १६ देखि चैत मसान्तसम्म कारोबार समय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म रहनेछ। कात्तिक १६ देखि माघ १५ सम्म भने कारोबार समय छोट्याएर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको यो तालिकाले बैंकिङ सेवामा एकरूपता ल्याउने र सेवाग्राहीलाई समयबारे स्पष्ट जानकारी दिने अपेक्षा गरिएको छ।


