काठमाडौं। यो साता सेयर बजार समग्रमा मिश्रित गतिमा अघि बढ्दै अन्ततः सकारात्मक दिशातर्फ टुंगिएको छ। कारोबार भएका दिनहरूमा बजार कहिले उकालो लाग्यो त कहिले ओरालो झर्यो।
तर, साताको अन्त्यतिर लगानीकर्ताको उत्साह बढ्दै जाँदा बजार हरियाली हुँदै बन्द भयो। यस अवधिमा साधारण सेयर (आईपीओ) बाँडफाँट, बोनस सेयर सूचीकृत तथा थप निष्कासन (एफपिओ) सूचीकरणजस्ता गतिविधिहरूले बजारलाई थप चलायमान बनाएका छन्।
बजारको दैनिक अवस्था
साताको पहिलो कारोबार दिन आइतबार बजार उकालो लागेर बन्द भयो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४.४५ अंक वृद्धि भई २८ सय २४ विन्दुमा पुगेको थियो। उक्त दिन ३५० कम्पनीका तीन करोड ९५ लाख कित्ता सेयर कारोबार हुँदा १४ अर्ब रुपैयाँभन्दा बढीको किनबेच भएको थियो।
सोमबार भने बजारमा गिरावट आयो। नेप्से सूचक २६.०७ अंकले घट्दै २७ सय ९८.८३ विन्दुमा झर्यो। त्यस दिन करिब १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो, जसले लगानीकर्तामा केही सतर्कता बढाएको संकेत गर्छ।
मंगलबार पुनः बजारमा सुधार देखियो। नेप्से सूचक १३.५१ अंकले बढेर २८ सय १२ विन्दुमा पुगेको थियो। उक्त दिन १३२ कम्पनीका सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको थियो। कूल ३४० कम्पनीका तीन करोड ४८ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भयो।
बुधबार घोडेजात्रा पर्वका कारण सार्वजनिक बिदा परेकाले बजार बन्द रह्यो। बिहीबार भने बजारमा उल्लेखनीय उछाल आयो। नेप्से सूचक ६४.६७ अंकले बढेर २८ सय ७७ विन्दुमा पुगेको छ।
२४० कम्पनीका सेयर मूल्य बढ्दा मात्र २२ कम्पनीको मूल्य घटेको थियो। सो दिन पाँच करोड ६९ लाख कित्ता भन्दा बढी सेयर किनबेच हुँदा २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भयो। जुन साताकै उच्च कारोबार हो।
आईपीओ सम्बन्धी गतिविधि
यस साता शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कुल २६ लाखभन्दा बढी आवेदकले आवेदन दिएका थिए। जसमध्ये २६ लाख ५० हजार आवेदन स्वीकृत भएका छन्। भाग्यशाली एक लाख ८४ हजारभन्दा बढी लगानीकर्ताले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
एफपीओ तथा बोनस सेयर
यस साता विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ नेप्सेमा सूचीकृत भएको छ। कूल चार लाख ६६ हजारभन्दा बढी कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि खुला गरिएको छ।
त्यसैगरी विभिन्न कम्पनीहरूको बोनस सेयर पनि सूचीकृत भएका छन्। हाइड्रो इन्भेस्टेमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल), ङादी ग्रुप पावर लिमिटेड, यूनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका बोनस सेयर नेप्सेमा थपिएका छन्।
समग्रमा हेर्दा यो साता सेयर बजारमा उतारचढाव भए पनि अन्तिम दिनको मजबुत प्रदर्शनले लगानीकर्तामा सकारात्मक संकेत दिएको छ। उच्च कारोबार रकम र सक्रिय सहभागिताले बजारमा विश्वास कायमै रहेको देखिन्छ। आगामी साता बजारको दिशा लगानीकर्ताको मनोबल, नीतिगत निर्णय र नयाँ निष्कासनले निर्धारण गर्ने सम्भावना छ।


