काठमाडौँः आज चैत्र ९ गतेदेखि दुई कम्पनी स्नो रिभर्स लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन गरेका छन्।
स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुलाएको हो। कम्पनीले स्थानीयका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता सेयर छुट्याएको छ। स्थानीयमध्ये ताप्लेजुङको सिरिजङ्गा–८ का बासिन्दा र अन्य प्रभावित क्षेत्रका बासिन्दालाई बराबरी हिस्सामा सेयर वितरण गरिनेछ।
यसमा न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ। स्थानीयले अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् भने स्थानीयले तोकिएका बैंक तथा बिक्री केन्द्रबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन चैत १२ गतेदेखि चैत २३ गतेसम्म खुला रहनेछ।
उता, सोपान फर्मास्युटिकल्स लिमिटेडले पनि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता आईपीओ निष्काशन गरेको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति चैत १२ गते तोकिएको छ।
कम्पनीले आगामी चरणमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने जनाएका छन।


