काठमाडौँ: अब नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले डेनमार्क र दक्षिण कोरियामा पनि उच्च गुणस्तरको भ्वाइस कल सेवा प्रयोग गर्न सक्ने भएका छन्। टेलिकमले आजदेखि ती दुई देशमा अन्तर्राष्ट्रिय फोरजी नेटवर्क प्रयोग गरेर फोन कल गर्ने प्रवि भोइस ओभर एलटीई रोमिङ सेवा सुरु गरेको जनाएको छ।
यसका लागि नेपाल टेलिकमले डेनमार्कको टेलिनोर डेनमार्क र दक्षिण कोरियाको एसके टेलिकमसँग सम्झौता गरेको हो। यसअघि नै क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान (आरओसी) मा यो सेवा उपलब्ध थियो। नयाँ दुई देश थपिएसँगै अब ८ देशमा नेपाल टेलिकमको रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ।
रोमिङ सेवा भनेको विदेशमा हुँदा पनि आफ्नै देशको मोबाइल नम्बर प्रयोग गरेर फोन, इन्टरनेट र एसएमएस चलाउन सकिने सुविधा हो। रोमिङमार्फत प्रयोगकर्ताले एचडी गुणस्तरको स्पष्ट भ्वाइस कल गर्न सक्नेछन्।
यो सेवा प्रयोग गर्न मोबाइलमा भोइस ओभर एलटीई सपोर्ट हुनुपर्छ र सेवा एक्टिभेट गरिएको हुनुपर्छ। मोबाइलको स्क्रिनमा एचडी वा भोइस ओभर एलटीई देखिएमा उक्त सेवा चलिरहेको बुझ्न सकिन्छ। यदि सेवा सक्रिय नभएको खण्डमा ८४४३ डायल गरी ‘एक्टिभ भोइस ओभर एलटीई’ विकल्प छानेर सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ।


