काठमाडौं। नेपाल आयल निगम लिमिटेडले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ बढाएको छ।
नयाँ भाउअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ। निगमले मूल्य स्थिरिकरण कोषकोसमेत उपयोग गरेको जनाएको छ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ।
मूल्य समायोजन हुँदा पनि आयल निगमलाई १५ दिनमा १० अर्ब रुपैयाँ नोक्सान हुने कार्यकारी निर्देशक चण्डीका भट्टले बताए।
नेपाल क्लिक्ससँग कुरा गर्दै कार्यकारी निर्देशक भट्टले हालको घाटा निगमको स्थिरिकरण कोषबाट समायोजन भइरहेको बताए। स्थिरिकरण कोषमा १२ अर्ब रुपैयाँ रहेको छ।
तेलको नियमित आपूर्तिका लागि योजना बनाइरहेको उनले जानकारी दिए। उनले आगामी तीन महिनाका लागि तेल आपूर्तिको नयाँ योजना बनाउन लागेको सुनाए।
नयाँ योजनामा सरकार, आयल निगम र उपभोक्ताबाट गर्ने योगदानमा केन्द्रीत रहने उनको भनाई छ।
यसअघि उपभोक्तामाथि आर्थिक चाप नपरोस भनेर मूल्य थोरै बढाएको बताउँदै उनले भने ‘थेग्न नसक्ने अवस्था आएपछि भाउ बढाउन वाध्य भएको हो। मूल्य घट्ने अनुमानविपरित मध्यपूर्वमा युद्ध लम्बिदै गयो र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढिरहेको छ। मूल्य बढाएर भए पनि तेलको आपूर्ति सूचारु गर्ने योजनाअनुसार भाउ बढाएको हो।’
अन्य मुलकमा जस्तो ठूलो संकट नेपालमा नआएको उनले बताउँदै भट्टले भने ‘भोलीका दिनमा इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन नसकेर आपूर्ति बन्द हुने अवस्था आउन नदिन भाउ बढाउनुपर्ने अवस्था छ।’
खपत घटाउने विषयमा छलफल भइरहेको उनले बताए। यस विषयमा निर्णय नभएको उनले जानकारी दिए।
मध्यपूर्वमा युद्धको असरः पेट्रोलियम पदार्थको भाउ लिटरमा बढ्यो १५ रुपैयाँ
उनका अनुसार हाल बजारमा ग्यासको खाली सिलिन्डर सबै भरिएको र ग्यासको आपूर्तिमा समस्या नरहेको उनको भनाई छ।
एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ।
सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भई इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणाली बमोजिम भाउ समायोजन हुन नसकेको निगमले जनाएको छ।
यसले गर्दा निगमलाई १५ दिन (१६ देखि ३१ मार्चसम्म) पाँच अर्ब रुपैयाँ घाटा हुने निगमको दाबी छ। पछिल्लो समयको मूल्यवृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ।
मार्च १ देखि मार्च २४ सम्म निगमले खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ र डिजलमा १४३ रुपैयाँ वृद्धि भएको छ। पछिल्लो पटक निगमले मार्च १६, २०२६ मा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर १५ र डिजलमा १० रुपैयाँ मात्र समायोजन गरिएको थियो।
यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहँदा र सोहीअनुसार भाउ समायोजन हुन नसक्दा घाटा रकममा उल्लेख्य वृद्धि भई इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना हुने देखिएको निगमले जानकारी दिएको छ।
इन्डियन आयल कर्पोरेशनवाट हालसम्म माग बमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहे पनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति व्यवस्थापन प्रभावित हुने भनाई निगमको छ।


