काठमाडौँः नेपालको सहकारी क्षेत्रलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यसहित अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपीले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया तथा कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ।
नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबीच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई थप सहज बनाउनेछ।
नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज तिवारीका अनुसार, यो नयाँ मोड्युलले सहकारीको आन्तरिक कार्यसम्पादनमा उल्लेखनीय सहजता ल्याउनेछ।
मिरा ईआरपीको सिंगल लगइन प्रणालीबाटै कर्जाको सम्पूर्ण प्रोसेसिङ हुने भएपछि सहकारीहरूमा विद्यमान सदस्य पहिचान सम्बन्धी समस्याहरूलाई यसले प्रभावकारी रूपमा समाधान गर्नेछ।
फाइभ ‘सी’ एनालाइसिस, सदस्यको कर्जा योग्यता जाँच, धितो मूल्याङ्कन तथा पुराना कारोबारको इतिहास प्रणालीले नै विश्लेषण गर्ने भएकाले जोखिम न्यूनीकरण हुनुका साथै सदस्यसँगको वित्तीय सम्बन्ध थप पारदर्शी र मजबुत हुने अपेक्षा गरिएको छ।
विशेषगरी नियामक निकायका मापदण्डहरू पूरा गर्न मिरा ईआरपी अझ शक्तिशाली बनेको छ। सहकारी विभागको कोपोमिस ९ऋइएइःक्ष्क्० मा पठाउनुपर्ने विवरणहरू हुन् वा सम्पत्ति शुद्धीकरण सम्बन्धी टीटीआर रिपोर्ट—यी सबै मिरा ईआरपीले तोकिएको एक्सेल वा एक्सएमएल फर्म्याटमा सजिलै उपलब्ध गराउँछ।
यसका साथै स्थानीय निकाय, सहकारी संघ, महासंघ तथा सहकारी नियमन प्राधिकरणमा दर्ता र रिपोर्टिङका लागि आवश्यक तथ्याङ्कहरू पनि सफ्टवेयरबाटै प्राप्त गर्न सकिन्छ।
हाल बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि कर्जा सूचना केन्द्रमा अनिवार्य रिपोर्टिङ गर्ने व्यवस्था रहेको छ। मिरा सफ्टवेयर प्रयोग गर्ने सहकारीहरूले उक्त रिपोर्टिङ पनि सिधै सफ्टवेयरमार्फत गर्न सक्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ।
सुरक्षाका दृष्टिकोणले आईएसओ २७००१ः२०२२ प्रमाणित यस सफ्टवेयरले कर्जा र धितोसम्बन्धी संवेदनशील विवरणहरूलाई डिजिटल डकुमेन्ट भल्टमार्फत सुरक्षित राख्छ।
हालसम्म ७०० भन्दा बढी सहकारी संस्थाहरू आबद्ध भइसकेको मिरा ईआरपीले बचत तथा ऋण व्यवस्थापन, सदस्य तथा शेयर व्यवस्थापन, पूर्ण लेखा प्रणाली, मोबाइल बैंकिङ र एसएमएस अलर्टजस्ता सुविधा प्रदान गर्दै आएको छ।
एमआर कलेक्टर एप, मौज्दात व्यवस्थापन तथा अनलाइन बिल भुक्तानीजस्ता आधुनिक मोड्युलहरूले सहकारीलाई पूर्ण रूपमा पेपरलेस र प्रविधिमैत्री बनाएका छन्।
उच्च स्केलेबल एसएएएस क्लाउड प्रविधिमा आधारित भएकाले यो सफ्टवेयर प्रयोग गर्न सहकारीहरूले अतिरिक्त भौतिक पूर्वाधार, सर्भर वा फायरवालको आवश्यकता पर्दैन। यसले नेपालका सहकारीहरूलाई आधुनिक बैंकिङ तथा डिजिटल वालेट सरहको सुविधा प्रदान गर्न सक्षम बनाएको छ।


