काठमाडौँ: ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ वुमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाइटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बालबालिकाको हेरचाह, स्वास्थ्य र शिक्षासम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
हस्पिटलको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, सम्बन्धित संस्थाका सदस्य, चिकित्सक, अभिभावक तथा बालबालिकाको सहभागिता रहेको थियो। कार्यक्रममा आईभीवाईबीले समेत सहकार्य गरेको थियो।
कार्यक्रममा बोल्दै हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई पारिवारिक माया, सहभागिता र जीवनोपयोगी सीप विकासमा ध्यान दिए सकारात्मक परिवर्तन सम्भव हुने बताए।
एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएका बालबालिकाप्रति समाजमा अझै पनि चेतनाको कमी रहेको उल्लेख गर्दै समान अवसर र समावेशी सहयोग आवश्यक रहेको बताइन्। उनले यस्ता बालबालिकाको फरक क्षमतालाई पहिचान र सम्मान गर्नुपर्नेमा जोड दिइन्।
त्यस्तै, डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले व्यक्तिगत अनुभव साझा गर्दै अभिभावकलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरिएको जानकारी दिइन्।
विश्वमा करिब प्रत्येक ७०० जन्ममा एक बालबालिका डाउन सिन्ड्रोमसहित जन्मिने तथ्यांक रहेको उल्लेख गर्दै सहभागीहरूले यस क्षेत्रका लागि राज्यस्तरबाट थप लगानी र पूर्वाधार विकास आवश्यक रहेको औंल्याएका छन्।


