काठमाडौँ: नयाँ सरकार गठनसँगै बजारमा उत्साह देखिने अपेक्षा गरिए पनि आइतबार सेयर बजारमा त्यसको उल्टो प्रभाव देखिएको छ। दुई तिहाइ नजिकको सरकार बनेपछि राजनीतिक स्थिरता आउने विश्वासका कारण बजारमा सकारात्मक सर्किट लाग्ने अनुमान गरिएको थियो, तर कारोबार सुरु भएदेखि नै बजार ओरालो लागेको छ।
आइतबार १२:३० बजेसम्म नेप्से परिसूचक ३४.५४ अंकले घटेर २९१५.६१ विन्दुमा झरेको छ। सो अवधिसम्म करिब ६ अर्ब रुपैयाँ बराबरको कारोबार भइसकेको छ, जसले उच्च कारोबार भए पनि बजारमा बिक्री दबाब बढी रहेको संकेत गर्छ।
प्रारम्भिक कारोबारदेखि नै सबै समूहका सूचकहरू राताम्य देखिएका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, व्यापार तथा माइक्रोफाइनान्स समूहहरूमा उल्लेख्य गिरावट देखिएको छ।
बजारमा सीमित कम्पनीको मूल्य बढ्दा अधिकांश कम्पनीहरू घटेका छन्। २५४ कम्पनीको सेयरमूल्य घट्दा ११ कम्पनीका लगानीकर्ताले मात्रै नाफा कमाएका छन्।


