काठमाडौँ: शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि त्यसको उत्साह सेयर बजारमा देखिने अपेक्षा गरिएको थियो। विशेषगरी रास्वपा, बालेनको नेतृत्वको सरकार र अर्थमन्त्री स्वर्णिम वाग्लेको आगमनले निजी क्षेत्रमैत्री नीति आउने आशा गरिएको थियो। सरकारले प्रारम्भिक रूपमा सुधारमुखी कार्यसूची पनि सार्वजनिक गरिसकेको छ।
तर बजारमा त्यसको प्रभाव देखिन सकेन। यसको मुख्य कारण पछिल्ला राजनीतिक घटनाक्रमलाई मानिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउपछि सुरु भएको राजनीतिक तनावले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका हुन्।
आइतबार ७१ दशमलव ०५ अंकको उच्च गिरावट देखिएको बजारमा सोमबार पनि नेप्से परिसूचक ७१ दशमलव ०५ अंकले घटी नेप्से २८०० विन्दुतर्फ झरेको छ। आइतबार पनि नेप्से ७१.०५ अंकले घटेर २८७९.११ बिन्दुमा कायम भएको नेप्से सोमबार २८३१.३९ बिन्दुमा खुम्चिएको छ।
यसदिन १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ।
सोमबार कारोबार रकम पनि घटेको छ। आइतबार १५ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यसदिन कारोबारमा आएकामध्ये २३७ कम्पनीको सेयरमूल्य घटेको छ भने २६ को बढ्दा पाँच कम्पनीको सेयरमूल्य स्थिर छ।
रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेस्ट इन लिमिटेडको सेयरमूल्यमा सर्किट लागेको छ। सुपरखुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा पनि उच्च वृद्धि देखिएको छ।


