काठमाडौँः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका एक कर्मचारी ग्राहकको मोबाइल नम्बर दुरुपयोग गरी १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कपिलवस्तुको तौलिहवा शाखामा कार्यरत रिशभ कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहका अनुसार कार्कीले बैंकको आन्तरिक प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी केही ग्राहकहरूको खातासँग जोडिएको मोबाइल नम्बर परिवर्तन गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार उनले ती खाताहरूमा आफ्नै मोबाइल नम्बर लिंक गरी मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत रकम स्थानान्तरण गरेका थिए। यसरी विभिन्न खाताबाट कुल १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी हिनामिना गरेको खुलेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले उनलाई मायादेवी गाउँपालिका बाट पक्राउ गरेको हो। पक्राउपछि बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलास बाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले ग्राहकहरूलाई आफ्नो बैंक खाता तथा मोबाइल बैंकिङसँग जोडिएको मोबाइल नम्बर नियमित रूपमा जाँच गर्न र कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित बैंकलाई जानकारी दिन आग्रह गरेको छ।


