काठमाडौँः सोपान फर्मास्यूटिकल्स लिमिटेडले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याउने तयारी गरेको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको कुल ४२ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोहीमध्ये बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन अवधि वैशाख ६ गतेसम्म रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म म्याद थपिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।


