काठमाडौँः प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा वैशाख ९ गते बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने, काठमाडौंमा बस्नेछ।
सभाले प्रस्तावित लाभांशका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा सभामा सहभागिता जनाउन सक्नेछन्।


