काठमाडौं।मध्यपूर्वमा जारी युद्धले कच्चा तेल आपूर्तिमा ठूलो असर गरेको छ। यसले गर्दा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ।
नेपाल आयल निगम लिमिटेडले बिहीबार पेट्रोलियम पदार्थको भाउ बढाएको छ। बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ मूल्य बढाएको हो।
यसअघि पहिलो वर्गमा पेट्रोलको मूल्य १८४.५० रुपैयाँ रहेकोमा अब १९९.५० रुपैयाँ पुगेको छ। दोस्रो र तेस्रो वर्गमा क्रमशः १८६ र १८७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढेर २०१ र २०२ रुपैयाँ पुगेको निगमले जनाएको छ।
डिजेल र मट्टितेलको मूल्य पनि बढेको छ। यसअघि पहिलो दोस्रो र तेस्रो वर्गमा क्रमशः प्रतिलिटर १६४.५०, १६६ र १६७ रहेको डिजेल र मट्टितेल बढेपछि १७९.५०, १८१ र १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ३४.३६ रुपैयाँ, डिजेलमा १२०.५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्ड ४१६.३७ रुपैयाँ घाटा रहेको जनाएको छ।
मूल्य समायोजनपछि पनि पाक्षिक १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने दाबी निगमको छ। मूल्य बढिरहँदा सोहीअनुसार समायोजन नहुँदा आगामी दिनमा निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न नसक्ने र तेल आपूर्तिमा असर पर्ने जिकिर गरेको छ।
स्थिरिकरण कोषमा रहेको रकम उपयोग गरेर भाउ नियन्त्रण गरिरहेको निगमले जनाएको छ।
विश्व बजारमा कच्चा तेलको भाउ ब्यारेलको ११३ डलर माथि रहेको छ। आयल प्राइस डटकमका अनुसार ब्रेन्ट क्रुडमा ब्यारेलको १०७.६, डब्ल्युटीआई क्रुडमा १११.३ र मुरबान क्रुडमा ११३.७ डलरमा कारोबार भएको छ।


