काठमाडौं। मध्यपूर्वमा युद्ध सुरु भएयता निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्यवृद्धिमा शुक्रबार ‘ब्रेक’ लागेको छ। डलरको भाउ घटेर १४९.२७ रुपैयाँमा झरेको छ। बिहीबारसम्म एक डलरबराबर १५२.४ रुपैयाँ थियो। एकै दिन रुपैयाँ ३.१३ रुपैयाँ बलियो भएको छ।
भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। एक डलरबराबर ९४.८५ भारु पुगेको थियो।
भारु बलियो भएपछि यसको सकरात्मक असर नेपाली रुपैयाँमा परेको हो। एक डलरबराबर ९२.८८ भारु कायम भएको छ।
नेरुको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले डलरसँग नेरु बलियो हुन गएको हो। डलरसँग नेपाली रुपैयाँ बलियो हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ।
भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ।
अमेरिकाको भन्सारदर बढाएपछि यसको असर बेलायत, जर्मनी, जापान, चीन र अष्ट्रेलियालगायत अतिविकशित मुलुकहरुमा परेको छ। डलरसँग भारुका साथै युरो र युआनलगायत विश्वका प्रमुख मुद्राहरु कमजोर बनेका छन्।
गत जेठसम्म १३६ रुपैयाँ हारहारीमा रहेको डलर इरान र इजरायबीचको युद्धले बलियो बनेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको भाउ बढेर १४१ रुपैयाँसम्म पुगेको थियो।
२०८२ असार मसान्तको तुलनामा २०८२ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७.२ प्रतिशतल अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.२ प्रतिशतले अवमूल्यन भएको थियो।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।


