काठमाडौं। दुईतिहाइ नजिकको सरकारसँग उच्च अपेक्षा राखेको सेयर बजारमा यो साता भने निराशाजनक अवस्था देखियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साता भर उतारचढावबीच कुल ७१ अंकभन्दा बढीले घट्दै २८ सय ७९ विन्दुमा बन्द भयो।
यो साता सरकारले सम्पत्ति शुद्धिकरणको अभियोगमा केही व्यवसायीलाई पक्राउ गरेपछि यसको असर सेयर बजारमा परेको लगानीकर्ताको भनाइ छ।
साताको सुरुवातदेखि नै बजार ओरालो लाग्यो। सोमबार थप गिरावट आएर नेप्से २८ सय ३१ विन्दुमा झर्यो भने कारोबार रकम पनि घट्दै गयो।
मंगलबार सामान्य सुधार देखिए पनि त्यसले निरन्तरता पाउन सकेन। बुधबार उच्च गिरावटसहित बजार २७ सय ७६ विन्दुसम्म झर्यो भने बिहीबार सामान्य सुधार भएर २७ सय ८२ विन्दुमा पुगेर टुंगियो।
नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनीयारका अनुसार नयाँ सरकारले सम्पत्ति शुद्धीकरणका मुद्दामा सक्रियता देखाएपछि त्यसको असर बजारमा परेको हो। उनले भने, “नयाँ सरकारले फोहोर सफा गर्दा उडेको धुलो बजारमा परेको हो, आत्तिनु पर्दैन, बजार पुनः सुधार हुन्छ।”
त्यस्तै, लगानीकर्ता देव गुरागाईंले पनि सम्पत्ति शुद्धीकरणको विषयमा सरकार सक्रिय हुँदा लगानीकर्तामा त्रास देखिएको बताए। उनका अनुसार, “नीतिगत व्यवस्था लागू गर्दा छोटो अवधिमा बजारमा प्रभाव पर्नु स्वाभाविक हो, तर बजार पुनः लयमा फर्किन्छ।”
यसबीच बजार संरचनागत रूपमा भने केही सकारात्मक पहलहरू भएका छन्। नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार लागू गर्ने बाटो खोलिदिएपछि नेप्सेले कार्यप्रक्रिया लागू गरेको छ।
यससँगै अब लगानीकर्ताले ऋण लिएरसमेत सेयर कारोबार गर्न पाउने भएका छन्। नेप्सेले १२३ कम्पनीलाई मार्जिन कारोबारका लागि योग्य सूचीमा राखेको छ। जसमा सबै वाणिज्य बैंकहरू समेत समावेश छन्।
ऊर्जा क्षेत्रतर्फ भने विवाद देखिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले २२ अर्ब रुपैयाँभन्दा बढीको संस्थापक सेयर सूचीकृत नभएको भन्दै सीडीएस एण्ड क्लिएरीङ लिमिटेड विरुद्ध असन्तुष्टि जनाएको छ।
अर्कोतर्फ, नेपाल राष्ट्र बैंक को तथ्यांकअनुसार सेयर धितो कर्जा करिब ३२ प्रतिशत बढेको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता भने बढिरहेको संकेत गर्छ।
यसै साता पाँच कम्पनीले एकैदिन प्राथमिक सेयर (आईपीओ) अनुमति माग्दै आवेदन दिएका छन्। कालंगा हाइड्रोले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँट सम्पन्न गरेको छ।
समग्रमा, यो साता बजारमा गिरावट देखिए पनि नीतिगत सुधार र नयाँ उपकरणहरूको सुरुवातले आगामी दिनमा बजारमा सकारात्मक ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।


