काठमाडौँः बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले आज (चैत्र २२ गते) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने जनाएको छ। यसका लागि दिउँसो ३ बजे बोलकबोल आयोजना हुने छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा बाँकी रकम छुटाउने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल सिङ्गल ब्याजदर वा बहुब्याजदरमा गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यो निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। ५६ दिने यो उपकरणको मूलधन र ब्याज भुक्तानी आउँदो जेठ १७ गते गरिने जानकारी राष्ट्र बैंकले दिएको छ।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको छ। बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकमा पैसा राख्न बाध्य भइरहेका छन्।


