काठमाडौँ: गत फागुन २१ को निर्वाचनपछि बनेको दुईतिहाइ निकटको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिने अनुमान गरिए पनि त्यसको विपरीत गएको सातायता सेयर बजार घट्दो क्रममा छ।
गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उतारचढावबीच कुल ७१ अंकभन्दा बढीले घट्दै २८ सय ७९ विन्दुमा बन्द झर्यो। यस साताको पहिलो दिन पनि कारोबार सुरु भएयता नेप्से निरन्तर ओरालो लागेको छ। कारोबार सुरु भएको एक मिनेटमा ५४ अंकले घटेको बजार उतारचढावका बीच दिउँसो १:३३ मा १०२.६० अंकले घटेर २ हजार ६७९.५७ अंकमा खुम्चियो।
त्यसपछि सम्हालिँदै अहिले सेयर बजार उक्त विन्दुबाट थोरै उचालिएको छ। दिउँसो १:५२ मा नेप्से ८३.९४ अंकले घटेर दुई हजार ६९८.२३ विन्दुमा छ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा केही व्यवसायीलाई पक्राउ गरेपछि यसको असर सेयर बजारमा परेको लगानीकर्ताको भनाइ छ।
नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारका अनुसार नयाँ सरकारले सम्पत्ति शुद्धीकरणका मुद्दामा सक्रियता देखाएपछि त्यसको असर बजारमा परेको हो। उनले भने, ‘नयाँ सरकारले फोहोर सफा गर्दा उडेको धुलो बजारमा परेको हो, आत्तिनु पर्दैन, बजार पुनः सुधार हुन्छ।’
त्यस्तै, लगानीकर्ता देव गुरागाईंले पनि सम्पत्ति शुद्धीकरणको विषयमा सरकार सक्रिय हुँदा लगानीकर्तामा त्रास देखिएको बताए। उनका अनुसार, ‘नीतिगत व्यवस्था लागू गर्दा छोटो अवधिमा बजारमा प्रभाव पर्नु स्वाभाविक हो, तर बजार पुनः लयमा फर्किन्छ।’


