काठमाडौँः सरकारले आइतबार सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेपछि सेयर बजार सातामा चार दिन मात्रै खुल्छ कि के हुन्छ ? भन्ने प्रश्न उठ्न थालेको छ।तर, नेप्सेका एक उच्च अधिकारीका अनुसार आईतबार बजार बन्द भएपनि शुक्रबार बजार खोल्न सकिन्छ ।
ती अधिकारीले भने, ‘सरकारले विदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खोल्न सकिनेबारे सञ्चालक समितिमा छलफल हुनेछ। बजार शुक्रबार शुल्ले सम्भावना बढी छ । किनकी पहिला पनि बजार सोमबार देखि शुक्रबार सम्म खुलेको रेकर्ड छ।’
यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थालाई विदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो । त्यतिबेला शनिबार र आइतबार बजार बन्द गरी सातामा ५ दिन नै सञ्चालन भएको थियो । यद्यपि सरकारले केही सातामै निर्णय फिर्ता गरेपछि शुक्रबारको साटो आइतबार नै कारोबार हुने गरी निर्णय भएको थियो ।
हाल शुक्रबार र शनिबार बजार बन्द रहँदै आएको छ । सरकारको नयाँ निर्णयले तत्काललाई शुक्रबार, शनिबार र आइतबार बजार बन्द हुने भएको हो । शुक्रबार बजार खोल्नका लागि अब नेप्से सञ्चालक समितिले छुट्टै निर्णय गर्नुपर्नेछ ।


