काठमाडौँः सिटीपे र छिटो पैसाबीचको मर्जरले डिजिटल भुक्तानी क्षेत्रमा नयाँ चरणको सुरुवात गर्ने देखिएको छ। नेपालको फिनटेक क्षेत्रमा वालेटहरूको दोस्रो मर्जर अन्तिम चरणमा पुगेको हो। डिजिटल वालेट ‘सिटी पे’ र ‘छिटो पैसा’ बीच गाभिने प्रक्रिया अघि बढिरहेको छ।
दुवै कम्पनीबीच प्रारम्भिक सहमति भइसकेको छ र अन्तिम स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा निवेदन दिइसकिएको छ। राष्ट्र बैंकबाट अनुमति प्राप्त भएपछि यी दुई वालेटले एकीकृत रूपमा कारोबार सुरु गर्नेछन्।
‘सिटी पे’ सिटी एक्सप्रेसद्वारा प्रवर्द्धित वालेट हो भने ‘छिटो पैसा’मा चर्चित राइड सेयरिङ एप ‘पठाओ नेपाल’का लगानीकर्ताहरूको लगानी रहेको छ। सिटी पे र पठाओबीच सेवाहरूको क्रस–प्रमोसन हुँदै आएकाले यी कम्पनीहरूबीच सहकार्य र मर्जरको तयारी भइरहेको संकेत पहिले नै देखिएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार सिटी वालेट प्रा।लि। (सिटी पे) को चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ भने छिटो पैसा प्राइभेट लिमिटेडको चुक्ता पूँजी २ करोड ६५ लाख रुपैयाँ रहेको छ।
रेमिट्यान्सलाई आधार बनाएर तीव्र रूपमा विस्तार भइरहेको सिटी पे र लोकप्रिय राइड सेयरिङ प्लेटफर्मसँग जोडिएको छिटो पैसा एकीकृत हुँदा आगामी दिनमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ रणनीति र प्रतिस्पर्धा देखिने अपेक्षा गरिएको छ।


