काठमाडौँ: झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार, त्यसमा पनि नागरिकहरूमाझ लोकप्रिय वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि त्यसको सकारात्मक प्रभाव पर्ने आशा सेयर लगानीकर्ताको थियो। तर सरकार बनेयता सेयर बजार झन् खस्किएको छ। गत आइतबारदेखि यस साताको पहिलो कारोबार दिन आइतबारसम्म गरेर नेप्से परिसूचक २७३.६५ अंकले घटेको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से २९५०.१६ विन्दुमा थियो। शुक्रबार वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो। त्यसपछि गत साता पाँच कारोबार दिनमा ३ कारोबार दिन नेप्से उच्च अंकले घट्दा दुई कारोबार दिनमा सामान्य बढ्यो।
गत साता आइतबार ७१.०५, सोमबार ४७.७१ र बुधबार ७४.७३ अंकले घटेको नेप्से मंगलबार १९.७० र बिहीबार ५.८२ अंकले बढ्यो। यसरी गत साता मात्रै १६७.९७ अंकले घटेको नेप्से यस साताको पहिलो कारोबार दिन पनि उच्च अंकले घटेको छ।
आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ। कारोबार सुरु भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको हो।
आइतबार नेप्से परिसूचक १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा झर्यो। नेप्से परिसूचक लगभग ६ महिनापछि १०० अंकभन्दा बढीले घटेको हो। यसअघि गत असोज २ गते बिहीबार, नेप्से १०० अंकभन्दा बढी घटेको थियो। सो दिन नेप्से परिसूचक १६०.३३ अंक घटेको थियो। सोपश्चात आज १०० अंकभन्दा बढी घटेको हो।
यसको कारण धेरैले सरकारले व्यवसायीविरुद्ध चालेको कडा कदम भएको बताएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएपछि त्यसले सेयर बजारलाई पनि तरंगित बनाएको हो। सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका शंकर अग्रवाल र सुलभ अग्रवाल लगायतलाई पक्राउ गरेपछि बजारमा नकारात्मक प्रभाव परेको हो। शंकर अग्रवाल आइतबार रिहा हुँदा अन्य तीन व्यवसायीहरू हिरासतमा छन्।
निरन्तर बजार घटेपछि आइतबारदेखि लगानीकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्। आज सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनमा लगानीकर्ता मात्रै नभएर सूचीकृत संगठित संस्थाका सञ्चालकहरू पनि उपस्थित थिए। त्यहाँ प्रहरी र लगानीकर्ताबीच सामान्य धकेलाधकेल समेत भएको थियो।
प्रदर्शनमा उपस्थित एक लगानीकर्ता तिलक कोइरालाले उक्त प्रदर्शनपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब हामी सिंहदरबारबाट रास्वपा पार्टी कार्यालयमा धर्ना बस्न जाँदैछौ, सबै आउनुहोला।’
बजार घट्नुबारे के भन्छन् लगानीकर्ता?
सेयर बजार घट्नुमा अनुसन्धानको डर मुख्य कारण भएको इन्भेष्टर फोरम नेपालका अध्यक्ष तुलसीराम ढकालले बताए। उनले भने, ‘बजारमा कालो धन छ भनेर लगानीकर्ताले डराउनु अनुचित हो। अधिकांश पैसा बैंकिङ प्रणालीबाट पारदर्शी रूपमा आउने भएकाले डराउनुपर्ने कारण छैन।’
त्यस्तै, अर्का लगानीकर्ता सुवास ढुंगानाले पुँजीबजार संरकारको प्राथमिकतामा नपर्नु ठूलो विडम्बना भएको बताएका छन् । ‘पुँजीबजारले देशको अर्थतन्त्रमा फरक पर्दैन भन्ने दृष्टिकोणले सरकारको ध्यान बजारतर्फ जान सकेको छैन। बजार घट्दा पनि मन्त्रिपरिषदको बैठक चलिरहेको थियो, तर कुनै निर्णय भएन। सायद सरकारलाइ उचित सल्लाह दिने विज्ञ त्यहा नभएर होला।’
विशेषज्ञका अनुसार, दीर्घकालिन रूपमा सम्पत्ति शुद्धीकरणले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भए पनि अल्पकालीन रूपमा बजारमा उतारचढाव देखिनु स्वाभाविक हो। लगानीकर्तामा विश्वास कायम राख्नु र नीति स्पष्ट राख्नु अहिलेको प्राथमिकता रहेको उनीहरूको भनाइ छ।


