काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार सरकारको निर्णय बमोजिम अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने व्यवस्था गरिएको छ। यो नयाँ प्रावधान २०८२ साल चैत २३ गते (आज)देखि लागू भएको छ।
ब
नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समयसमेत परिमार्जन गरिएको छ। अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ।
केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले आन्तरिक रूपमा नयाँ समयतालिका कार्यान्वयन गर्न थालेका छन्। कर्मचारीहरूलाई सेवा समय प्रभावकारी बनाउन बिहान ८ः४५ बजेसम्म कार्यस्थलमा उपस्थित हुन निर्देशन दिइएको छ।
सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंकिङ सेवा समय पनि सोहीअनुसार समायोजन गरिएको हो। अब ग्राहकहरूले बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ सेवा लिन सक्नेछन्।
यसैगरी, जाडो याम (कात्तिक १६ देखि माघ १५) मा समयतालिकामा थप परिवर्तन हुनेछ। सो अवधिमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहनेछ भने बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित गरिनेछ।


