काठमाडौँः साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक ८३.३३ अंकले उकालो लाग्दै २७६०.०२ विन्दुमा पुगेर बन्द भएको छ। यससँगै सेन्सेटिभ इन्डेक्स १४.३० अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.०१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.०३ अंकले वृद्धि भएको छ।
पछिल्ला दिनहरूमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि बजारमा त्रासको वातावरण सिर्जना भएको थियो। सोही कारणले लगातार ओरालो लागेको बजार सोमबार भने अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि सुधारतर्फ फर्किएको हो।
आइतबार १०० अंकभन्दा बढीले घटेको बजारपछि सोमबार बिहान नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरू अर्थमन्त्रीलाई भेट्न पुगेका थिए। उक्त भेटमा अर्थमन्त्री वाग्लेले वर्तमान सरकार निजी क्षेत्र तथा पूँजी बजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ, बजार हेरफेर (म्यानिपुलेसन) जस्ता अनैतिक गतिविधिमा संलग्न नभएसम्म लगानीकर्ताले आत्तिनु नपर्ने बताएका थिए। जानकारहरूका अनुसार यही सन्देशले बजारमा सकारात्मक मनोबल सिर्जना गरेको हो।
यद्यपि, बजार उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३४५ कम्पनीका १ लाख २४ हजार ९३ कारोबारमार्फत १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरका २ करोड ५१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन्।
यस दिन ८ कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनका लगानीकर्ताले उच्च नाफा कमाएका छन्। उल्लेखनीय रूपमा, घट्ने स्टकहरूको गिरावट दर पनि ४ प्रतिशतभन्दा कममै सीमित रहेको छ।
कारोबार रकमका आधारमा भने रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, जसको १ अर्ब १३ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।


