काठमाडौं। सेयर कारोबारसम्बन्धी गम्भीर अनियमितता भेटिएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ अन्तर्गतको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई कडा कारबाही गरेको छ।सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बोर्डका एक सदस्यले जानकारी दिए ।
विवादस्पद व्यवसायी दीपक भट्टले हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको १९ लाख कित्ता सेयर खरिद गरेका थिए। तर, त्यसको रकम भने तिरेका थिएनन्। ब्रोकर कम्पनीले नियमविपरीत भुक्तानी नलिई सेयर सीधै उनको खातामा सारिदिएको पाइएपछि सेबोनले उसलाई कारवाही गरेको हो।
यस घटनालाई धितोपत्र ऐन विपरीत ठहर गर्दै सेबोनले उक्त ब्रोकरलाई तीन महिनाका लागि निलम्बन गर्ने र आर्थिक जरिवाना समेत लगाउने निर्णय गरेको स्रोतले बताएको हो। साथै, कम्पनीका सञ्चालक र व्यवस्थापनसँग स्पष्टीकरण पनि मागिएको छ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा तेस्रो पक्षका खाताबाट भुक्तानी गरी उधारोमा शेयर कारोबार गराइएको पाइएको छ । यसले विद्यमान नियमअनुसार आवश्यक मार्जिन नलिइएको र वित्तीय जोखिम बढाएको निष्कर्ष निकालिएको छ ।
निलम्बनसँगै कम्पनीले अर्को आदेश नभएसम्म शेयर कारोबार गर्न नपाउने भएको छ भने देशभरका ग्राहकहरू प्रत्यक्ष प्रभावित भएका छन्।
छानबिनका क्रममा अर्को गम्भीर पक्ष पनि देखियो—सेयर कारोबार गर्दा अनिवार्य २५ प्रतिशत धितो (कोल्याटरल) राख्नुपर्ने नियमसमेत पालना गरिएको थिएन। यसले कारोबार प्रक्रियामा ठूलो जोखिम लिएको संकेत गर्छ।
त्यति मात्र होइन, ब्रोकरले विभिन्न बीमा कम्पनी र लगानी कोषहरूसँग पनि लामो समयदेखि ठूलो रकम भुक्तानी नगरी राखेको भेटिएको छ। यसमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडलगायतका संस्थाहरू जोडिएका देखिन्छन्।


