काठमडौँः नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। नेपाल राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नरको पद रिक्त रहेकोमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई एक जना मात्रै डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभाले अर्थ मन्त्रालयको प्रस्तावमा पण्डितलाई उक्त पदमा नियुक्त गरेको जानकारी दिइन्।
पण्डितले विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका थिए। उनी नेपाल राष्ट्र बैंकअन्तर्गतको फरेन एक्सचेन्ज म्यानेजमेन्ट डिपार्टमेन्टका कार्यकारी निर्देशक हुन्।
पण्डित कार्यकारी निर्देशकमा बढुवा भएको १३ महिनामै डेपुटी गभर्नर नियुक्त भएका हुन्। उनी २०८१ फागुन १ मा निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका थिए।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेको जिल्ला तनहूँका बासिन्दा हुन्। उनी कार्यकारी निर्देशकको सातौँ वरीयतामा थिए। २०६२ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका उनी हाल विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वमा छन्।
नेपाल राष्ट्र बैंक ऐनमा कार्यकारी निर्देशकहरु मध्येबाट डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ। राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशक नै डेपुटी गभर्नर नियुक्तिको लागि योग्य हुन्छन्। डेपुटी गभर्नरको लागि गभर्नरले ४ जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्ने र ति मध्ये दुई जना डेपुटी गभर्नर नियुक्त हुने व्यवस्था छ।
गत फागुन २५ गतेदेखि नेपाल राष्ट्र बैंकका दुवै डेपुटी गभर्नरको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा डेपुटी गभर्नर पद रिक्त थियो। डेपुटी गभर्नर रहेका डा. नीलम ढुंगाना र बम बहादुर मिश्रको कार्यकाल गत फागुन २५ गते सकिएको थियो।


