काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन्। सपथग्रहणपछि पण्डितले आजै डेपुटी गभर्नरको पदबहाली गरे।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वरियताको क्रममा सातौं स्थानमा रहेका पण्डितलाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्ति गर्ने निर्णय गरेको हो। उनको कार्यकाल पाँच वर्षको हुनेछ।
गत फागुन २४ मा डा. निलम तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल सकेर अनिवार्य अवकासमा गएपछि डेपुटी गभर्नर रिक्त थियो। डेपुटी गभर्नर दुई जना भए पनि सरकारले पण्डितलाई मात्र नियुक्त गरेको छ।
२०६२ माघ २ गते सहायक निर्देशकको रूपमा राष्ट्र बैंक प्रवेश गरेका पण्डित ०६८ मा उपनिर्देशक, ०७४ मा निर्देशक हुँदै ०८१ फागुन १ मा कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । केही समय उनी प्रवक्तासमेत भएका थिए।
कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए।


