काठमाडौँः नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) क्षेत्रका निर्यातकर्तालाई लक्षित गर्दै नयाँ सटही सुविधा लागू गरेको छ। ‘एकीकृत परिपत्र–२०८२’ मार्फत यस्तो व्यवस्था गरिएको हो।
नयाँ प्रावधानअनुसार विदेशबाट आम्दानी गर्ने आईटी कम्पनीहरूले अब वार्षिक ५ हजार अमेरिकी डलरसम्म प्रिपेड डलर कार्ड प्रयोग गर्न सक्नेछन्। यसअघि सामान्य आईटी व्यवसायका लागि यो सीमा ३ हजार डलर मात्र थियो। निर्यातबाट विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई थप २ हजार डलरसम्मको सुविधा दिइएको हो।
यो कदमले नेपाली स्टार्टअप र सफ्टवेयर कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा काम गर्न सजिलो बनाउने अपेक्षा गरिएको छ। विशेषगरी क्लाउड सेवा, सर्भर होस्टिङ र विभिन्न डिजिटल उपकरण खरिदमा यो सुविधा उपयोगी हुने विश्वास गरिएको छ।


