काठमाडौँः साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ४५.१२ अंक बढेर २८०२.५२ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रुपैयाँबराबरको १ करोड ८८ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन ७ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, श्रीनगर एग्रीटेक इण्डष्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य यस दिन सर्वाधिक ४.३५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


