काठमाडौं। २०८३ को वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। यसपटक पनि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् भने एउटा बैंकले मात्रै बढाएको छ। बाँकी बैंकहरूले भने अघिल्लो महिनाकै दरलाई यथावत् राखेका छन्। नयाँ दर वैशाख १ गतेदेखि लागू हुनेछ।
नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर करिब ०.०८ प्रतिशत बिन्दुले घटेर ४.४१ प्रतिशतमा पुगेको छ।
अघिल्लो महिना चैतमा यो दर ४.४९ प्रतिशत थियो। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपतर्फ पनि ०.०६ प्रतिशत बिन्दुले गिरावट आई औसत ब्याजदर ३.२३ प्रतिशतमा झरेको छ, जुन चैतमा ३.२९ प्रतिशत थियो।
यस महिनामा सात वटा बैंकहरूले ब्याजदर घटाएका छन् भने कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ। उक्त बैंकले व्यक्तिगत निक्षेपमा ०.०४ र संस्थागततर्फ ०.०३ प्रतिशत बिन्दुले वृद्धि गर्दै नयाँ दर निर्धारण गरेको हो।
एभरेष्ट बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन्। एभरेष्टले व्यक्तिगततर्फ ०.२ प्रतिशत, कुमारीले व्यक्तिगततर्फ ०.०७ प्रतिशत घटाएका छन्।
यस्तै सिटिजन्सले ०.३५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ०.०१ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत र एनआईसी एशियाले ०.२५ प्रतिशत ब्याजदर घटाएका छन्।
कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ। अन्य बैंकले भने मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन्।
बैंकको ब्याजदर घट्दा पनि निक्षेप परिचालन बढिरहेको छ। यस्तै ऋणको ब्याजदर कम हुँदा पनि कर्जा विस्तार सुस्त रहेको छ।


