काठमाडौँः २०८२ साल नेपाली सेयर बजारका लागि समग्रमा निराशाजनक वर्ष रह्यो। वर्षको सुरुवातमा उत्साह देखिए पनि त्यो टिक्न सकेन, र वर्षको अन्त्यसम्म आइपुग्दा नेप्से परिसूचक दबाबमै रह्यो।
वैशाखको पहिलो सातामै नेप्से ५२.६७ अंकले बढ्दै २७२२.७३ विन्दुमा पुगेको थियो। त्यसपछि गभर्नर नियुक्तिको चर्चाले जेठ ६ गते बजारमा थप उत्साह ल्यायो, जहाँ परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ मा बन्द भयो। तर डा. विश्वनाथ पौडेल गभर्नर नियुक्त भएपछि पनि बजारले अपेक्षित गति लिन सकेन।
उनले सार्वजनिक गरेको पहिलो मौद्रिक नीतिपछि केही समय बजारमा सुधार देखिएको थियो। असार २९ गते त बजार खुलेको केही मिनेटमै करिब ६६ अंकले उकालो लाग्दै २७९८ विन्दु नजिक पुगेको थियो, यद्यपि अन्त्यमा वृद्धि सीमित रह्यो।
साउन महिना भने बजारका लागि उत्साहजनक रह्यो। नेप्से ३००२ विन्दुसम्म पुगेको थियो र कारोबार पनि उच्च रहँदा पूँजीगत लाभकर संकलन २ अर्ब १५ करोड रुपैयाँसम्म पुगेको थियो।
तर यो गति लामो समय टिकेन। भदौमा भएको जेनजी आन्दोलनले बजारलाई ठूलो झट्का दियो। आन्दोलनपछि खुलेको बजारमा नकारात्मक सर्किट लाग्दै कारोबार नै रोकिएको थियो। केही दिनमै नेप्से करिब १६० अंकले घट्दै २५११ विन्दुमा झर्यो।
यसपछि बनेको नयाँ सरकारका अर्थमन्त्री डा. रामेश्वर खनाल र गभर्नर पौडेलले बजार सुधारका लागि विभिन्न प्रयास गरे पनि लगानीकर्ताको मनोबल उठाउन सकेनन्। परिणामस्वरूप असोजमा समेत बजार निरन्तर ओरालो लाग्दै २५०० विन्दु आसपासमा सीमित रह्यो।
फागुनमा भएको निर्वाचनपछि नयाँ राजनीतिक समीकरण बनेसँगै बजारमा सुधारको आशा गरिएको थियो। रास्वपाको नेतृत्वमा बनेको सरकारमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बने। सुरुमा केही आशा देखिए पनि चाँडै नै बजार फेरि दबाबमा आयो।
चैत २२ गते नेप्सेमा ठूलो गिरावट आउँदै १०५ अंकले घटेर २६७६.६८ मा बन्द भयो। वर्षको अन्तिम कारोबार दिन पनि बजार सामान्य रूपमा घट्दै २८३३.६० विन्दुमा पुगेर रोकियो।
यस दिन करिब ८ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १०५ कम्पनीका सेयर मूल्य बढे भने १५३ कम्पनीका घटे। केही कम्पनीमा सकारात्मक सर्किट लाग्दा पनि समग्र बजारमा उत्साह देखिएन।
पछिल्लो समय सरकारले सम्पत्ती सुद्धीकरणका मुद्धालाई प्राथमिकता दिएर काम गर्न थालेपछि भने बजारमा गिरावट आउन थालेको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र लगानीको वातावरण हुँदाहुँदै पनि २०८२ सालभरि सेयर बजारले स्थिर र सकारात्मक गति लिन सकेन। राजनीतिक परिवर्तन र नीतिगत प्रयासहरू समेत बजारलाई दिगो रूपमा उकास्न असफल देखिए। अगामी दिनमा भने बजारले पछिल्ला रेकर्ड तोडेर नयाँ रेकर्ड बनाउने लगानीकर्ताको भनाई छ ।


